पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।'

तर व्यक्तिहत्याको विचाराधीन मुद्दाका प्रतिवादी रिगल डन भनिने योगराज ढकाल यतिबेला विभिन्न मिडियामा सफाइ दिँदै हिँडिरहेका छन् । र, मिडियाहरूलाई भ्युज भए पुगेको छ । उदाहरण हुन्- प्राइम टाइम्स टिभी र सूत्रन्यूजमा ढकालको अन्तवार्ता ।
संविधान दिवसको छेको पारेर ढकाललाई आममाफी दिएपछि सरकारको चौतर्फी आलोचना भयो । २०७२ असार २८ गते खुकुरी प्रहार गरी चेतन मानन्धरको हत्या गरेको अभियोगमा ढकाल जन्मकैद सजाय भोगिरहेका थिए ।
व्यक्तिहत्याको अभियोगमा जन्मकैद भोगिरहेका उनले सत्ता र शक्तिको बलमा राष्ट्रपतिबाट आममाफी पाएका हुन् । ठेक्कापट्टामा संलग्न उनी सत्तारुढ नेपाली कांग्रेस निकट हुन् ।
कैद मिनाहाविरुद्ध चेतन पत्नी भारती मानन्धरले आममाफी दिने सरकारको निर्णयविरुद्ध गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी छन् । र, अनशन पनि घोषणा गरेकी छन् । मुद्दा विचाराधीन रहे पनि प्रतिवादी भने मिडियाहरूमा छाइरहेका छन् । मिडियाहरूले सगर्व प्रश्न सोधेजस्तो गरेर उनलाई सफाइको मौका दिइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता केन्द्रीय विभागका सहप्राध्यापक डा. कुन्दन अर्याल मिडियाले आफ्नो सामाजिक दायित्व बिर्सेर आफ्नो स्तर झन् गिराएको टिप्पणी गर्छन् ।
“यस्ता व्यक्तिलाई ठाउँ दिनु भनेको मिडियाले आफ्नो सामाजिक दायित्व बिर्सनु हो । यस्तो गतिविधिले नेपाली मिडियाको स्तर गिरेको छ”, अर्याल भन्छन्, “अदालतले अपराध पुष्टि गरेर जन्मकैदको सजाय पाएका व्यक्तिलाई मिडियाले स्थान दिनु अत्यन्त गम्भीर विषय हो ।"
जेलबाट निकाल्न कीर्ते गरी मिति सच्याइएको समाचारहरूमा सार्वजनिक भइरहँदा मिडियाले अपराधमा दोषी प्रमाणित व्यक्तिलाई स्थान दिन नहुने उनी बताउँछन् । "यस्ता व्यक्तिलाई मिडियामा आफ्ना कुरा राख्न दिनु पत्रकारिताको मूल्यमान्यता विपरीत हो“, अर्याल भन्छन् ।
कैदमिनाहा विरूद्ध चेतन पत्नी भारती असोज १७ गतेदेखि माइतिघर मण्डलमा आमरण अनसनमा बसेकी छन् ।
लातोका भुत–धमला !
प्राइम टाइम्सबाट प्रसारण हुने 'जनता जान्न चाहन्छन्' कार्यक्रमका सञ्चालक ऋषि धमला हुन् । र, धमलाले पत्रकार आचारसंहिता उल्लंघन गरेको पहिलो पटक होइन । रिपोटर्स क्लबका अध्यक्ष समेत रहेका धमलाले पत्नी हत्यामा दोषी ठहर पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालाको पनि अन्तरवार्ता लिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो । कोइराला रिहा भएपछि धमलाले उनको अन्तर्वार्ता लिएका थिए ।
धमलाले २०७८ चैत २० गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किने क्रममा विमानको संवेदनशील ठाउँमा पुगी माइक तेर्स्याएका थिए ।
त्यतिबेला प्रेस काउन्सिल नेपालले धमलालाई स्पष्टिकरण सोधेको थियो । जवाफ चित्त बुझ्दो नभएको भन्दै काउन्सिलको आचार संहिता अनुगमन समितिले उनलाई बयान पनि लिएको थियो ।
“धमलाले त्यतिबेला पत्रकार आचारसंहिता पालना गर्छु र अरुलाई पनि पालना गर्न प्रेरित गर्छु भनेका थिए", प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले भने, “तर उहाँले अझै पनि आचारसंहिता पालना गर्नु भएको छैन ।"
टिकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरीले आममाफी पाएलगत्तै धमलाले अन्तवार्ता लिएका थिए । गल्ती स्वीकार्नु र सुधार्नुभन्दा पटकपटक गल्ती गर्नु धमलाको चरित्र हो ।
मिडिया अध्येता भानुभक्त आचार्य अपराधीलाई स्थान दिने मिडिया पाठक, स्रोता दर्शकले बहिस्कार गर्नुपर्ने बताउँछन् ।
"ऋषि धमलाको टेलिभिजनकारिताले नेपालको पत्रकारितालाई रसातलमा पुर्याउँछ । युट्युबमा क्लिक, भ्युज र सेन्सेसनबाट निर्देशित भएको उनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमले अपराधीको मनोबल बढाउने काम गरिरहेको छ", आचार्य लेख्छन्, "अपराधीले स्पेस पाउने टेलिभिजन कार्यक्रम हेर्न बन्द गरौँ । त्यस्तो कार्यक्रममा अन्तर्वार्ता दिन जान बहिस्कार गरौँ ।"
केही समयअघि प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पल शाह भनिने अभिनेता पूर्णविक्रम शाहको अन्तर्वार्ता लिएपछि भएको व्यापक आलोचनाका बीच उक्त कार्यक्रम नै बन्द भयो ।
कान्तिपुर टेलिभिजनले 'महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको' जनाएको थियो ।
हिन्दीमा उखान छ- ‘लातोका भूत बातो से नही मान्ते ।’ सम्भवतः धमला पनि सुध्रिनेवाला छैनन् । पत्रकारिताको मूल्य मान्यतामाथि उनको हमला जारी छ ।
"उनले पछिल्लो हप्ता लिएका दुई अन्तर्वार्तामा रिगल र दुर्गा प्रसाईंले बोलेका अपाच्य संवादहरूलाई म यहाँ उद्धृत गर्न समेत लजाउँछु", बसन्त बस्नेत अनलाइनखबरमा लेख्छन्, "दुर्भाग्य यो छ कि, अहिले नयाँ पुस्तामा आउँदै गरेका कतिपय सञ्चारकर्मीहरूको सुरुवात नै धमला जस्तै चर्चित कसरी बन्ने ध्याउन्नबाट हुन्छ ।"
रिगलको आममाफिविरूद्धको रिटमा सर्वोच्च अदालतले आउँदो कात्तिक १४ गते पेसी तोकेको छ । महिला अधिकारकर्मीहरूले पनि कैद माफी पाएका ढकाललाई पुनः थुनामा राख्न माग गरिरहेका छन् ।