युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’

युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’

  • कार्तिक १४, २०७८ आइतबार १५:४९

विष्णु सुवेदी

गोरखापत्र मुलुकको जेठो समाचारपत्र मात्र होइन, यो नेपाली पत्रकारिताको वैभवशाली संस्था हो । यो पत्रिका मात्र होइन, यो हाम्रो गौरव अनि इतिहास एवं सभ्यता पनि हो । हाम्रो संस्कृति, साहित्य र भाषिक विविधताको धरोहरका रूपमा यो रहेको छ ।

वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा एउटा ठूलो फड्को पनि थियो । नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र होइन, युगको जीवन्त प्रतिनिधि हो । आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने पढिने पत्रिका गोरखापत्र हो । हाम्रो सामाजिक विकास र संस्कृति प्रवद्र्धनमा यो संस्थाको महत्त्वपूर्ण योगदान छ । यसले अनेक उकाली ओराली पार गरेको छ भने राजनीतिक र सामाजिक परिवर्तनका थुप्रै आरोह अवरोहको साक्षी बनेको छ ।

वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’को लक्ष्य हासिल गर्न संस्थाको ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ दुवैतर्फ व्यापक शल्यक्रिया गरेर उत्पादनको गुणस्तरमा उल्लेख्य सुधार तथा परिवर्तन आवश्यक छ । सूचना प्रविधिको तीव्रतर विकाससँगै मिडिया उद्यमको मात्र होइन, पत्रकारिताको चित्र र चरित्र बदलिएको छ । कागजको जमाना अब जोखिममा परिसकेको छ र दुनियाँ डिजिटल भइसकेको छ । अबको दुनियाँमा बलवान् हामी पत्रकार वा पत्रिका होइन, प्रविधि र पाठक हुन् । पत्रकारभन्दा पाठक स्मार्ट भएका छन् । पाठकसमक्ष रोजाइका अनगिन्ती विकल्प छन् र उनीहरूका चाहना र आवश्यकता फेरिएका छन् ।

सामाजिक सञ्जालको आक्रामक विकास र विस्तार मूल प्रवाहको मिडियाका लागि सबैभन्दा ठूलो चुनौती हो । चौबिस घण्टा कुरेर पाठकले किन गोरखापत्र र राइजिङ नेपाल पढ्नुपर्ने ? यसको जबाफ अब हामीले हाम्रो उत्पादनमा आमूल सुधार गरेर दिनैपर्छ । नत्र गोरखापत्र संस्थानले भन्दा पहिले हामीलाई पाठकले बिदा दिने खतरा पनि छ । हामीले काम गर्ने सोच, शैली र संस्कार बदल्न सकनौँ भने त्यो खतरा अब टाढा छैन ।

पत्रकारिताको आयाम नै परिवर्तन भएको छ । अब प्रतिस्पर्धा सूचनामा होइन, सामग्रीको प्रस्तुति र स्‍वादमा हो । त्यही एउटै सामग्रीलाई कुन एङ्गल र कस्तो ‘प्याकेज’मा हामीले प्रस्तुत गर्न सक्छौंँ अनि ‘मल्टी मिडिया’लाई कसरी ‘ब्लेन्ड’ गर्छौं, त्यसमै हाम्रो स्तर र प्रभाव प्रदर्शन हुन्छ । पाठकको स्वाद र सन्तुष्टि, सामग्रीको विविधता र गुणस्तर अनि प्रविधिको प्रभावकारी संयोजनबाट मात्रै हाम्रो सफलता सम्भव हुनसक्छ । पाठकको रुचि र रोजाइअनुसार हामी हिँड्न सकेनौँ भने हाम्रो प्रयास अर्थहीन हुनेछ । समयको माग र प्रविधिको गति पछ्याउँदै दौडिन र बदलिन सकेनौंँ भने हाम्रो यात्रा असान्दर्भिक हुने खतरा पनि छ ।

अहिलेको मुख्य चुनौती भनेको सूचना प्रविधिमा भएको चमत्कारिक विकास हो । अब डिजिटलबाट भाग्‍ने अवस्था छैन र यसको गति पछ्याउन पनि त्यति सजिलो छैन । सूचना प्राविधिको चमत्कारसँग जुध्‍नुपर्ने र त्योसँग समायोजित हुनुपर्ने चुनौती छ । हामीले छाप्ने पत्रिकाको ‘हार्डकपी’ सबै पाठकले पढ्न पाउने अवस्था छैन । सबै ठाउँमा पु-याउन पनि सम्भव छैन तर हाम्रो ‘डिजिटल प्लेटफर्म’मार्फत लाखौँ पाठकसँग हामी जोडिनसक्छौँ । अब त्यो प्लेटफर्म हाम्रो प्राथमिकतामा हुनुपर्छ ।

पाठकको परिभाषा परिवर्तन भएको छ । पत्रिका किन्‍ने ग्राहक र पढ्ने मात्र हाम्रा पाठक होइनन् । फेसबुक, ट्‍वीटर, युट्युब तथा अन्य डिजिटल मिडियाबाट हाम्रो उत्पादनसँग जोडिने र हाम्रा सामग्री पढ्ने, सुन्‍ने र हेर्ने सबै हाम्रा पाठक हुन् । तिनको सुविधा, रोजाइ र रुचिलाई अब हामीले ख्याल गर्नुपर्छ । पाठक अहिले पत्रकारभन्दा पनि स्मार्ट भएका छन् । प्रविधिको प्रयोग र रोजाइमा उनीहरू सिपालु छन् । त्यसैले पाठकको परम्परागत चित्र र चरित्र जसरी परिवर्तन भएको छ, हाम्रो सामग्री र प्रस्तुतिमा त्यही खालको परिवर्तन आवश्यक छ ।

राजनीतिक अस्थिरतासँगै व्यवस्थापन र सम्पादकीय नेतृत्वमा भइरहने फेरबदलले संस्थाको स्वाभाविक विकास क्रम बेलाबेलामा बिथोलिएको छ । व्यवस्थापन र सम्पादकीय नेतृत्वमा एउटा खालको स्थिरता भयो भने संस्थाको गति अझ सहज हुनेछ । विगतमा राजनीतिक हस्तक्षेप र दलीय ‘सिन्डिकेट’ले गोरखापत्र थलिएको छ । यो रोग हामी गोरखापत्रकर्मीले नै निम्त्याएको हो ।

सानोभन्दा सानो विषयलाई पनि राजनीतीकरण गरे वा दलीय चस्मा लगाएर पार्टी वा नेता वा मन्त्रालयमा धाउने प्रवृत्ति अब बन्द गर्नुपर्छ । त्यो प्रवृत्तिलाई दुरुत्साहन गर्नेतर्फ अब नयाँ व्यवस्थापनको कठोर प्रयास हुनेछ । जुनियर रिपोर्टर वा कार्यालय सहायकसम्मको कर्मचारीको नियुक्ति वा सरुवामा पनि उसको सीप र क्षमता जाँच्ने र मूल्याङ्कन गर्नेभन्दा पनि माथिको लाइन कुर्ने, दलीय इसारा र आदेश पर्खिने गलत प्रथाले यो गौरवमय संस्थाको व्यावसायिक धारमा खिया लाग्दै गएको छ ।

विगतमा केही प्रकरणले के पाठ सिकाएको छ भने हाम्रा आफ्नै कमजोरीले पनि संस्थाले आफ्नो स्वायत्तता र निर्णय गर्ने क्षमता गुमाउँदै गएको छ । अब यो अवस्था अन्त्य गर्नुपर्छ । गोरखापत्रलाई राजनीतिक गुटबन्दी र दलीय सिन्डिकेटबाट मुक्त गरेर एउटा स्वायत्त र व्यावसायिक संस्थाको रूपमा विकास गर्नुपर्छ । यसका लागि यहाँ कार्यरत सबै गोरखापत्रकर्मीको इमानदार र सिर्जनशील सहयोग र सक्रियता आवश्यक छ । हामीले परम्परागत ढर्रा अन्त्य गर्नैपर्छ । सरकारी काम कहिले जाला घाम वा झारा टार्ने प्रवृत्तिलाई निर्मम रूपमा निरुत्साहन गर्नैपर्छ ।

संस्थाको सबैभन्दा ठूलो पुँजी भनेको त्यहाँको जनशक्ति हो । त्यो जनशक्ति सिर्जनशील, इमानदार र ऊर्जाशील भएन भने संस्था पनि बलियो र दिगो हुन सक्दैन । संस्थाका हरेक सदस्यले संस्थाप्रति गौरव गर्ने र त्यहाँको उत्पादनको अपनत्व लिने अझ हार्दिक र व्यावसायिक वातावरण तयार गर्नु जरुरी छ । विगतमा संस्थाभित्र केही पात्र अस्वाभाविक रूपमा हावी भएर संस्थानको स्थापित पद्धति भत्काइएको छ भने तदर्थ एवं अपारदर्शी ढङ्गले धेरै कामकारबाही भएको छ र त्यसमा मन्त्रालयबाट समेत प्रभावकारी अनुगमन वा नियमन नभएको पाइएको छ । त्यसको अप्रिय परिणाम र पीडा संस्थाले अझै केही समय बेहोर्नुपरेको पर्नेछ । यो अवस्था फेरि दोहोरिन नदिन नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ ।

गोरखापत्रको मुख्य कार्यालय न्युरोडको भूगोलपार्कमा छ । निकै व्यस्त र साँघुरो स्थानमा रहेको यो कार्यालय कुनै पनि हिसाबले उपयुक्त छैन । जनसम्पर्क बढी हुनुपर्ने यो कार्यालयमा अहिले सहज पहुँच छैन भने मुख्य भवन निकै जीर्ण छ । नयाँ भवन निर्माण र निर्माणाधीन संरचनालाई पूर्णता दिनु तत्कालको आवश्यकता हो । दीर्घकालीन रूपमा यो ठाउँ र संरचनालाई व्यापारिक ‘कम्प्लेक्स’का रूपमा विकास गरेर गोरखापत्रलाई अलि खुला र उपयुक्त स्थानमा सारेर गोरखापत्र भिलेज निर्माण गर्नुपर्छ । जहाँ गोदाम, प्रेस, न्युज रुम, तालिम तथा सम्मेलन कक्ष, म्युजियम, क्यान्टिन र आवासको समेत व्यवस्था गर्न सकिन्छ ।

जीर्ण भवन पुनर्निर्माण गर्न सकिन्छ र त्यो नयाँ बन्छ छिटै तर हाम्रो सोच अनि काम गर्ने शैली पनि जीर्ण भयो भने त्यसको जीर्णोद्धार गर्न भने कठिन हुनेछ । संस्थासँग स्मार्ट भवन तयार हुँदा हामी जीर्ण भएर असान्दर्भिक हुने अवस्था नआओस् ।

नेपालमा सबैभन्दा बढी स्रोतसाधन सम्पन्‍न र सबैभन्दा बढी पहुँच वा नेटवर्क भएको सञ्चार संस्था गोरखापत्र हो । हामीसँग के छैन ? अनुभवी जम्बो जनशक्ति छ । प्रविधि र उपकरण यहाँ जति अन्यत्र छैन । सूचनाको यति सहज पहुँच अरूसँग हुँदैन । शताब्दी लामो विरासत अनि पाठकको माया र विश्‍वास पनि छ । स्वाभाविक रूपमा कसैले उछिन्‍न नसक्‍ने गरी गोरखापत्र नम्बर एक हुनुपर्ने हो तर त्यो हुन अझै सकिरहेको छैन । त्यो हुन नसक्‍नुको कारण र कमजोरी हामी नै हो । यो संस्था जति सशक्त, दिगो र व्यावसायिक हुन्छ, गोरखापत्रकर्मीको भविष्य त्यति सुरक्षित र सुन्दर हुन्छ ।

इतिहास तथा विरासतले हामी समृद्ध छौँ तर अब यो संस्थाले नयाँ जीवन खोजिरहेको छ । परम्परा र विरासतमा अल्झिनुभन्दा अब ‘ब्रान्ड’ विकास गर्नु जरुरी छ । संस्थासँग रहेका पूर्वाधार, मानव संसाधन, प्राविधिक एवं भौतिक स्रोतसाधनको अध्ययन गरेर त्यसको प्रभावकारी उपयोग र परिचालन गरी परम्परागत ढर्रामा चल्दै आएको गोरखापत्रलाई ‘डिजिटल सिफ्ट’ गर्नु आजको आवश्यकता हो ।

यस्तो गौरवमय संस्थाको सदस्य वा गोरखापत्रकर्मी बन्न पाउँदा मलाई खुसी अनि गर्व लागेको छ । आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित यसका सम्पादकीय उत्पादनहरू (गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुना, अनलाइनलगायत)को गुणस्तरमा अभिवृद्धि गरी गोर्खापत्रलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहितको मार्गचित्र तयार हुने क्रममा छ ।

सञ्चार तथा सूचना प्रविधिको आयामलाई आत्मसात् गर्नसक्ने सक्षम र शालिन व्यक्तित्व मन्त्रालयको राजनीतिक नेतृत्वमा भएकोले पनि गोरखापत्र सुधारको अभियानमा हामी थप उत्साहित भएका छौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई युग सुहाउँदो, सक्षम, विश्वसनीय र व्यावसायिक मिडिया संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । त्यसैगरी सञ्चार क्षेत्रको विकास र डिजिटल दुनियाँसँग राम्रोसँग परिचित एउटा विज्ञ व्यक्तित्व डा. वैकुण्ठ अर्याल मन्त्रालयको सचिव हुनुहुन्छ । त्यसैले सुधारको अभियान अगाडि बढाउन अहिले गजबको एउटा अवसर छ ।

युग सुहाउँदो स्मार्ट गोरखापत्रको लक्ष्य हासिल गर्ने अभियानमा गोरखापत्रका समस्त सम्मानित पाठक, संस्थाका अग्रज र शुभेच्छुकको सद्भाव र सुझाव अझै महìवपूर्ण हुन्छ । हामी सबैबाट अमूल्य सल्लाह तथा प्रतिक्रियाको अपेक्षा गर्दछौँ । गोरखापत्र सुधारको कार्ययोजनासहितको मार्गचित्रबारे आगामी अङ्कमा म बुँदागत रूपमा चर्चा गर्नेछु ।

गोरखापत्रबाट ।


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल