पत्रकारितामा सामाजिकीकरण

पत्रकारितामा सामाजिकीकरण

Photo Credit CNN
  • पौष २४, २०७८ शनिबार २३:३२

डा. कुन्दन अर्याल -

मिडिया अध्ययन अथवा मिडियाको अभ्यास र सिद्धान्तका विषयमा धेरैजसो चर्चा हुने गरेको शीर्षक भनेको मिडियाको प्रभाव नै हो । विश्व परिवेशमा खासगरी उन्नाइसौँ शताब्दीको मध्यपछि आम रूपमा वितरण हुने अखबारको उदय सँगसँगै शासकहरू वा त्यसबेलाका सम्भ्रान्त वर्गमा ठहरिने सीमित तर शक्तिशाली समूहमा रोष, ईष्र्या जागेको थियो । त्यो बेला मिडिया क्षितिजमा अखबार मात्र थिए । ती अखबारलाई समाजको मूल्य र मान्यता भत्काउने वा आम मानिसलाई सांस्कृतिक रूपमा च्यूत गराउने नयाँ साधनका रूपमा समेत चित्रण गर्न खोजिएको थियो । त्यस्तो हुनुको कारण समाजमा मिडिया वा त्यसबेलाका अखबारले क्रमशः सामाजिक संस्थाका रूपमा प्रभाव विस्तार गर्न थाल्नु नै थियो । अर्थात् मिडियाको प्रभावसँग शक्तिमा रहनेहरू डराउन थालेपछि त्यस्ता अभिव्यक्ति स्वतन्त्रताविरोधी तर्क अघि सारिएका थिए ।

समयक्रममा मिडियाको सामाजिक उत्तरदायित्वसहितका व्यावसायिक मूल्य–मान्यता र आम रूपमा तदनुकूलको अभ्यासले त्यस्ता तर्कलाई परास्त गरेको थियो । युरोप र अमेरिकामा त्यो चरण निकै पहिले आयो, नेपालजस्ता देशमा पछि । संसारका सबैजसो भूभागमा आमसञ्चारका आयाममा पनि समाज विकासको क्रम उस्तैउस्तै देखिन्छ । मिडियाका तत्कालीन, दीर्घकालीन वा योजनाबद्ध र योजनाविहीन प्रभावका बारेमा संसारका धेरै समाजमा अध्ययन भएका छन् । मिडियाको अपेक्षित प्रभावका सम्बन्धमा पनि धेरै छलफल चल्ने गरेको छ । मिडियामार्फत समुदायमा अपेक्षित प्रभाव सिर्जना गर्न कैयन् सैद्धान्तिक अवधारणा विकसित भएका छन् । विश्व शान्ति, विकास र समझदारी अभिवृद्धिका लागि मिडिया प्रभावको महìवका बारेमा पनि विमर्श हुँदै आएका छन् । तैपनि कतिपय बेला मिडियामा समाजमा घातक असर पर्ने वा व्यक्तिलाई हानि हुने किसिमका सामग्री पनि देखिन्छन् । कुनै सामग्री किन त्यसरी प्रस्तुत भयो भन्ने बुझ्न मिडियाकर्मीको सामाजिकीकरणका सम्बन्धमा समेत थाहा पाउनु जरुरी हुन्छ ।

मिडियालाई समाजको दर्पण मान्ने आदर्शवादी धार सँगसँगै मिडियाका अन्तर्वस्तुको आधार मूलतः समाजिक संरचना र शक्ति सम्बन्धको स्वरूप नै हो भन्ने आलोचनात्मक धारमा पनि अध्ययन भइरहेका छन् । यस धारका अध्येता मिडियाले सधैँ समाजको यथार्थलाई ऐनाजस्तै गरी जस्ताको त्यस्तै चित्रण गर्दैन भन्ने ठान्दछन् । त्यस्तो अवस्थामा पत्रकार आफ्नो नियमित कार्यतालिका अनि तर्क, सामाजिकीकरण र विज्ञापनदाताका साथसाथै दबाब समूहको समेत प्रभावमा परेर मिडियालाई दर्पणका रूपमा कायम राख्न असमर्थ हुने गर्दछन् । आलोचनात्मक धारका अध्येता मिडियाका केही अन्तरनिहित समस्या छन् भन्ने ठहर गर्दछन् र कुनै पनि सामग्री सञ्चालक, स्रोत–साधनका नियन्त्रकका साथसाथै पत्रकारको दृष्टिकोण वा आग्रह–पूर्वाग्रहबाट अछुतो रहन नसक्ने निष्कर्ष निकाल्छन् ।

सन् पचासको दशकमा प्रकाशित अति चर्चित अवधारणा प्रेसका चार सिद्धान्तमा सबैभन्दा पहिले त्यति विस्तारका साथ राजनीतिक प्रणाली र मिडिया प्रणालीबीचको अन्तरसम्बन्धका बारेमा गरिएको अध्ययनको ठहर प्रस्तुत गरिएको थियो । त्यसमा अघि सारिएको मान्यताअनुसार संसारका प्रमुख मिडिया प्रणालीमा अधिनायकवादी, तत्कालीन सोभियत सङ्घको जस्तो नियन्त्रणमुखी, स्वच्छन्दतावादी वा सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित आमसञ्चार प्रणाली नै पर्दछन् । विकासोन्मुख देशमा समेत स्थलगत अध्ययन गर्ने अमेरिकी सञ्चारविज्ञ विल्वर श्राम र साथीहरूको अध्ययनको सार थियो, कुनै पनि राजनीतिक प्रणालीले आमसञ्चार प्रणालीलाई आफू अनुकूल आकार प्रदान गर्दछ । उनीहरूले सँगसँगै के पनि ठहर गरेका थिए भने एउटै किसिमको राजनीतिक प्रणालीको पनि समाजअनुसार अभ्यास गरिएको देखिन्छ ।

आज संसारभरिका आमसञ्चार प्रणालीको ससर्ती अवलोकन गर्ने हो भने एउटै खालको शासन व्यवस्था भएका देशमा पनि मिडियाका सम्बन्धमा फरक–फरक अभ्यास गरिएको पाइन्छ । त्यसैले कुनै पनि समाजमा पत्रकारले निर्वाह गर्ने व्यावसायिक दायित्व मिडियाले आत्मसात् गर्ने दर्शन, राजनीतिक सिद्धान्त सँगसँगै व्यक्तिगत सामाजिकीकरणबाट पनि प्रभावित हुने गर्दछ ।

घटनास्थल वा कुनै पनि सामग्रीको सुरुवातको बिन्दुदेखि अन्तिम चरणको सम्पादनको क्रमसम्मै पत्रकार सन्देशका द्वारपाले हुन् । विषय वा घटना समाचारयोग्य छ कि छैन भन्ने निधो गरेर स्वीकार वा अस्वीकार गर्नेदेखि लिएर सम्पादनका क्रममा काँटछाँट गर्नेसम्मको अधिकार प्रयोग गर्दा कुनै पनि पत्रकार एउटा व्यक्तिका रूपमा पनि कार्यरत हुन्छ । त्यो व्यक्तिको संस्कार, संस्कृति र सामाजिकीकरणको आधार हुन्छ । त्यसैले व्यक्तिको सामाजिकीकरणको प्रभाव सामग्रीमा पर्दछ । कुनै विषयवस्तु वा घटना छनोटमा किन पर्दछ र कुनै अस्वीकृत किन हुन्छ भन्ने प्रश्नको जवाफमा सामान्यतः व्यावसायिक मूल्य–मान्यता र समाचारीय मूल्य वा समाचार बन्ने योग्यता नै हो भन्ने पाइन्छ तर एक पत्रकारको सामाजिकीकरणको प्रभावलाई पनि कम आँक्न सकिँदैन ।

समाज र मिडिया वा सांस्कृतिक उत्पादनका प्रमुख वाहकबीचको अन्तरसम्बन्धमा समाचार वा अन्य सामग्रीको प्रशोधन वा तयारी गर्ने लेखक र पत्रकारको सोच वा दृष्टिकोण झल्किन्छ । यो यथार्थ आत्मसात् गरेमा मिडिया साक्षरता भनेको के हो, धेरै हदसम्म बुझ्न सकिन्छ । समाचार वा अन्य सामग्री कस्तो परिचय स्थापित गरेको मिडियाबाट प्रसार भएको छ वा तयार गर्ने व्यक्ति को हो भन्ने बुझेर त्यसको सन्देश विश्लेषण गर्ने क्षमता विकास गर्नु नै आमसञ्चार साक्षरता हो । समग्रमा आमसञ्चारको समाजशास्त्रको जानकारी राख्न खोज्ने हो भने पनि यसका वाहकको सांस्कृतिक, वैचारिक वा व्यावसायिक पक्षको पनि समीक्षा गर्न जरुरी हुन्छ ।

पत्रकार वा सम्पादनमा संलग्न हुने मिडियाकर्मीको सामाजिकीकरणको प्रसङ्गमा व्यावसायिक रूपमा उनीहरूको सामाजिकीकरण र व्यक्तिका रूपमा उनीहरूको रुचि वा दृष्टिकोणको चर्चा गर्नुपर्ने हुन्छ । औपचारिक वा अनौपचारिक पत्रकारिता शिक्षा वा कलेजका पाठ्यक्रम वा अल्पकालीन व्यावसायिक तालिम पत्रकारको व्यावसायिकताको परिधिभित्रका सामाजिकीकरणका प्रक्रिया हुन् । सामाजिकीकरणका दिशामा व्यावसायिक पत्रकारका लागि सबैभन्दा महìवपूर्ण स्थल भनेको कार्यथलो नै हो । व्यावसायिक मूल्य र मान्यताको कुरा गर्ने हो भने समाचार वा अन्य सामग्रीको प्रतिनिधित्व गराउने क्रममा पत्रकारले सामान्यतया जनताको नजरमा कुन विषय, व्यक्ति वा घटना समाचारयोग्य छन् भन्ने हेर्नुपर्दछ । त्यही आधारमा समाचार वा अन्य सामग्री तयार हुनु व्यावसायिक मापदण्डको पालना गरिनु हो । त्यसरी हेर्दा समयबद्धता, आकार वा प्राथमिकता जस्ता विषयमा मिडियाका तर्क तय भएका हुन्छन् । मिडियाका सञ्चालक आफ्ना अवाञ्छित स्वार्थ पूरा गर्न अग्रसर भएका बेला वा जनताको पृष्ठपोषणउपर ध्यान नदिइएका बेला समाचारको योग्यतासम्बन्धी व्यावसायिक आधार लत्याइन्छन् । त्यस्तो बेला सकारात्मक र व्यावसायिक सामाजिकीकरणभन्दा पनि जनसम्पर्क वा स्वार्थका आधार बलियो बन्न पुग्दछन् ।

संसारमा हरेक दिन वा हरेक क्षणका यावत् घटना वा विषय समाचार बन्दैनन्, सबै घटना वा प्रवृत्ति मिडियाका सामग्री पनि बन्दैनन् । छानिएका केही घटना वा विषय मिडियाका सामग्री बन्ने गर्दछन् । मिडियामा सामग्री छनोटको व्यावसायिक आधार भनेको समाचारीय मूल्य वा कुनै विषय वा घटनाको समाचार बन्न सक्ने आधार नै हो । एउटै घटना कुनै मिडिया आउटलेटमा महìवका साथ र कुनैमा कम महìवका साथ प्रस्तुत भएको पनि देखिन्छ । प्राथमिकता प्रदान गर्ने मामिलामा भिन्नता भएका कारण त्यस्तो हुने गर्दछ । विश्वविख्यात शान्ति अभियन्ता तथा मिडिया सिद्धान्तका ज्ञाता जोन गाल्टुङले कुनै पनि घटना वा विषयको समाचार बन्न सक्ने योग्यता त्यस विषयलाई कति जोड दिएर कति दोहो-याइएको छ भन्ने कुराले पनि तय गर्ने ठहर गरेका छन् ।

अर्थात् मिडियाकर्मी कुनै घटना वा विषयसँग जति बढी परिचित हुन्छन्, ती विषय छनोटमा पर्नसक्ने सम्भावना पनि उति नै रहन्छ । विभिन्न विषय वा घटनालाई निरन्तरको सार्वजनिक दबाब, अभियान वा आन्दोलनमार्फत निरन्तर सामाजिक वृत्तमा ल्याइरहने पहल भएको देखिन्छ । कैयन् विषय वा घटनाले त्यही कारण मिडियाको छनोटमा परिरहने सफलता पाइरहेको देखिन्छ । त्यसैगरी लेखक–पत्रकार वा मिडियाकर्मीको कुनै खास विषयमा सामाजिकीकरण बढाउँदै मिडिया प्रस्तुतिमा अनुकूलता हासिल गर्न सकिन्छ भन्ने पनि ठानिन्छ । विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित विषयवस्तुमा निरन्तर कलम चलाउने पत्रकारको संस्था वा पत्रकारसँगको गहन अन्तक्र्रिया सामाजिकीकरणको प्रयासकै उदाहरण हुन् । पत्रकार सकारात्मक र नकारात्मक दुवै किसिमका सामाजिकीकरणको प्रभावबाट मुक्त हुन सक्दैनन् भन्ने देखिँदै आएको छ । शिक्षादीक्षा, सीप र व्यावसायिक मूल्यमान्यता र नैतिक आधारको जगमा हुने सामाजिकीकरणबाट मात्र असल र उपयोगी सामग्री उत्पादन हुन सक्छ । सामाजिक उत्तरदायित्व वहन उचित सामाजिकीकरणबिना सम्भव हुन सक्दैन ।

गोरखापत्रबाट । 


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल