डा. प्रदीप भट्टराई-
हामीलाई अरूले ऐना देखाइदिए चित्त दुख्न सक्छ । त्यसैले आफैं एउटा ऐना लिएर आफ्नै अनुहार हेरौं । पक्कै पनि त्यो ऐनामा हाम्रो अनुहार देखिने छ । भनाइ नै छ- ऐनाले कहिल्यै ढाट्दैन ।
हुनसक्छ त्यो ऐनाले हाम्रो अनुहारमा कसिंगर देखाइदेला । अनि हामी ऐनामा खोट देखेर ऐना फालौला र अर्को ऐना लिएर फेरि अनुहार हेरौंला । फेरि पनि अनुहारमा कसिंगर नै देखिएला । अब हामीलाई यो ऐनासँग रिस उठ्ला र फुटाइदिउला । र, अझ महंगो ऐना किनेर अनुहार हेरौंला । तर, यसपटक पनि अनुहारमा कसिंगर नै देखिन्छ ।
कारण, कसिंगर ऐनामा होइन, हाम्रो अनुहारमा हामी भित्रको नियतमा छ । त्यसैले ऐना फेरेर होइन, अनुहारभित्रको नियत धोएर ऐना हेरौं । त्यसपछि फुटेको ऐनामा हेरे पनि हाम्रो अनुहार उज्यालो देखिने छ ।
अमेरिकाको नेपाली डायस्पोरा कस्तो छ ? त्यसलाई हेर्ने एउटा मानक ऐना हो– यहाँको नेपाली डायस्पोरिक पत्रकारिता । अमेरिकामा थुप्रै पृष्भूमि भएका नेपाली आएर नेपालको मिनियचर बनाएका छन् । त्यो मिनियचरमा नेपालमा हुँदा पत्रकारिताको पृष्ठभूमि भएकाको संख्या पनि उल्लेख्य छ । उनीहरू यहाँ आएर कुनै न कुनै रूपमा सञ्चारकर्ममा जोडिएका छन् । पत्रकारिता आफैंमा एउटा नशा हो, एकपटक यसको अम्मलमा फसेको मानिस विरलै बाहिर निस्कन सक्छ ।
पत्रकारिता पहिलाजस्तो गाह्रो पनि छैन । डिजिटल प्लेटफर्मको सहज उपलब्धता अनि वैकल्पिक मिडियाका रूपमा सामाजिक सञ्जालको प्रभावकारी उपस्थितिले जो–कोही पनि सञ्चारकर्ममा सजिलै जोडिन सक्छ ।
पछिल्लो समय लेख्नै नपर्ने, लेखिहाले पनि थोरै लेख्दा पुग्ने, अझ बोले मात्र पुग्ने मिडियाको युग सुरू भएको छ, यसले पत्रकारिताको कखरा नजान्दा पनि कामचलाउ सञ्चारकर्मी हुनसक्ने अवस्था विद्यमान छ ।
अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारितामा अहिले यस्तै सञ्चारकर्मीको संख्या अग्लिएको छ । प्रकारान्तरमा पत्रकारिता सञ्चारकर्मीको कब्जामा पुगेको छ । यो कब्जाधारी जमात स्रोतका लागि सहजै म्यानुपुलेसन भइदिने भएकाले यहाँको डायस्पोरिक पत्रकारिता नै पहुँचवालाको पकेट पत्रकारितामा अनुदित भएको छ । पूर्ण पाठ दृष्टिन्युजमा ।