अधिकांश मिडिया मौन रहेको अवस्थामा समाचार छाप्ने एक अनलाइनका पत्रकारलाई मानव सेवा फाउण्डेशनका स्वयंसेवकहरूले मिडिया हाउसमै पुगेर समाचार हटाउन दबाब दिएका छन् ।
पशुपतिमा जारी कोटिहोम महायज्ञ आयोजक संस्था हो- मानव सेवा फाउण्डेशन । सो फाउण्डेशनका सञ्चालक हुन्- विष्णु प्रपन्नाचार्य र बाल योगेश्वर नामहरूले पनि चिनिने [धर्मगुरु] विजय भण्डारी ।
विजय भण्डारी करोडौं रकम ठगी गरेको अभियोगमा फरार अभियुक्त हुन् । उनका विषयमा पहिले मुलधारका अधिकांश सञ्चार माध्यमहरूले समाचार लेखेका थिए । तर अहिले यी मिडियाहरू करिब मौन छन् ।
२०६९ मा महाराजले गरेको भनिएका ‘ठगी’ का घटना उजागर गर्ने मुलुकको ठूलो मिडिया कान्तिपुर पनि अहिले चुप देखिन्छ ।
एकादुई बाहेक सबैजसो मिडिया ती ठगी शृङ्खलाहरूबारे मौन छन् । यस विषयमा लेख्ने ती एकादुई मिडिया पनि असुरक्षामा छन् ।
हामीलाई प्राप्त पछिल्ला सूचनाहरूले पशुपति परिसरमा कोटिहोम आयोजना गर्ने संस्था मानव सेवा फाउण्डेशनका अध्यक्ष एवं आफूलाई विष्णु प्रपन्नाचार्य र बाल योगेश्वर नामहरूले चिनाउने विजय भण्डारीका बारेमा समाचार लेख्ने कम्तिमा एउटा मिडियामा उनीहरूका मान्छे पुगेर धम्क्याएका छन् ।
यो पनि पढ्नुहोस्ः नेपाली मिडियाको दोहोरो मापदण्ड: हिजो 'महाठग', आज 'महाराज'!
गत साउन ३ गते दियोपोस्ट डटकमले ‘ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ शीर्षकको समाचार प्रकाशन गर्यो । समाचार प्रकाशन लगत्तै मानव सेवा फाउण्डेशनमा स्वयंसेवक रहेकी अस्मिता पौडेलले दियोपोस्टका सम्वाददातालाई ह्वाटस्यापमा म्यासेज लेखेर “पशुपतिमा आउनुस् कुरा गर्न हिम्मत छ भने” भनेर धम्क्याएकी थिइन् ।
दियोपोस्टले साउन १० गते फेरि अर्को समाचार प्रकाशन गर्यो । ‘प्रशासनकै नाकमुनी धर्मगुरु भण्डारीको ताण्डव !’ शीर्षकमा समाचार छापिएपछि उनीहरूले समाचार लेख्ने पत्रकारलाई फोन नै गरेर पशुपति आउन भने ।
समाचारमा बाइलाइन नभए पनि ती समाचार दियोपोस्टका सम्वादादता खुमा वलीले लेखेको र सोही समाचारलाई दियोपोस्ट र नेप्लिज टाईम्समा टेकमान साक्यले भ्वाइसओभर गरेर भिडियो पोस्ट गरेको दियोपोस्टका प्रधान सम्पादक सुदीप विश्वकर्माले पुष्टि गरे । “दोस्रो समाचार प्रकाशन गरेपछि आफूलाई अस्मिता पौडेल बताउने व्यक्तिले मलाई फोन गर्नुभयो, पशुपतिमा आउनुस् भन्नुभयो,” दियोपोस्टका सम्वाददाता शाक्यले मिडिया कुराकानीसँग भने, “मैले मानिनँ, भोलिपल्ट त उहाँहरू हाम्रो न्युज रुममै आउनुभयो ।”
आफूलाई मानव सेवा फाउण्डेशनको स्वमंसेवक बताउने अस्मिताले दबाबमा आएर पत्रकारलाई म्यासेज गरेको बताइन् । “समाचार आएपछि यहाँ मलाई किचकिच भयो, अनि मैले आक्रोशमा त्यसरी म्यासेज लेखेको हुँ”, अस्मिताले हामीसँग टेलिफोनमा भनिन् ।
अस्मिता मानव सेवा फाउण्डेशनमा मिडिया कोअर्डिनेटर छन् । “म मिडिया कोअर्डिनेटरका रुपमा त्यहाँ पुगेको हो”, अस्मिताले भनिन्, “कुनै प्रलोभन दिन वा दबाब दिन गएका होइनौँ ।”
समाचार प्रकाशन भएको भोलिपल्ट साउन ११ गते साँझ साढे ५ बजेतिर अस्मिता पौडेल सहित अन्य ४ जना व्यक्ति अनामनगरस्थित दियोपोस्टको कार्यालयमा पुगेका थिए । “फुर्सदको समयमा अफिसमै आउनु भनेका थिए,” पौडेलले दाबी गरिन्, “ उनीहरूले आउनुस् भनेपछि मात्रै हामी मिडिया हाउसको अफिसमा गएका हौँ ।”
दियोपोस्टका प्रधान सम्पादक सुदीप विश्वकर्माले आफ्ना संवाददातालाई उक्त समूहले धम्की दिएपछि कार्यालयमै आउन भनेको बताए । “हामीलाई ‘थ्रेट’ आएपछि अफिसमै आएर कुरा गर्न भनेका हौँ । उहाँहरू शंकास्पद रुपमा आउनुभएको थियो,” प्रधानसम्पादक विश्वकर्मा भन्छन्, “एक युवती मेरो क्याबिनमा आएर विभिन्न आश्वासन दिँदै समाचार हटाउन भन्नुभयो । हामीले समाचारमा आपत्ति भए खण्डन गर्नुस् भन्यौँ । त्यसपछि उहाँ (ती युवती) आक्रोशमा आउनुभयो ।
दियोपोस्टका प्रधान सम्पादक विश्वकर्मा अस्मिताले सुरुमा जसरी पनि समाचार रोकिदिन भन्दै आश्वासनहरू दिएकी थिइन् । “कोटिहोम अवधिभर सकारात्मक कुराहरु गरिदिनुपर्यो । विगत जस्तो भए पनि अहिले सुध्रिएको पनि हुन सक्छ”, विश्वकर्माले अस्मितालाई उद्धृत गरे, “विष्णु भण्डारीबारे समाचार लेख्नै परे बरु अलि पछि लेखिदिनु । अहिलेलाई बन्द गर्नुपर्यो । होइन भने हामी पनि हाम्रो तरिकाले अघि बढ्छौँ ।” त्यसपछि उनले समाचारमा चित्त नबुझे खण्डन गर्न भनेका थिए ।
दियोपोस्ट कार्यालयमा अस्मिता मात्रै पुगेकी थिइनन् । अन्य ३ जना युवकहरू पनि उनीसँग थिए । उनीहरूलाई वेटिङ रुपमै बस्न भनेपनि जबर्जस्ती आफ्नो क्याबिनमा छिर्न खोजेको विश्वकर्मा बताउँछन् ।
“अस्मिता ठूलो स्वरमा बोल्न थालेपछि बाहिर रहेका शंकास्पद व्यक्तिहरू जबरजस्ती मेरो क्याबिनमा आउन खोजेका थिए,” विश्वकर्मा भन्छन्, “ती युवाहरूले कार्यालय भित्रै अपशब्दहरू समेत बोलेका थिए ।”
यो घटनापछि दियोपोस्टले समाचार रोक्न दिइएको दबाबबारे समाचार लेखेको छ । “ती युवतीले समाचार रोक्नु पर्ने शर्त राखेकी थिइन् । त्यतिमात्रै होइन कोटिहोमबारे सकारात्मक समाचार लेखिदिन दबाव दिएकी थिइन् । उनी विष्णु प्रपन्नाचार्यले यसअघि गरेका अपराधको समेत बचाउमा उत्रिएकी थिइन्”, समाचार उल्लेख छ, “कार्यालयको रिसेप्सनमा ३ जना शंकास्पद व्यक्ति देखिएका थिए । उनीहरूको साथमा हतियार जस्तो देखिने बस्तु समेत थियो ।” सिसिटिभी फुटेजमा एकजना व्यक्तिले कम्मरमा हतियारजस्तो देखिने बस्तु पटकपटक छामेको देखिन्छ ।
फाउन्डेशनका अध्यक्ष समेत रहेका अलग अलग समयमा अनेकानेक नामले चिनिने विजय भण्डारीले दुई चारवटा मिडियाले अफवाह फैलाएको दाबी गर्छन् ।
"...खै केका लागि हो, केही औंलामा गन्ने दुई/चार जना केही साथीहरू तथा गुरुवर्गहरू, दुई/चार वटा मिडियाका साथीहरूले अफवाह फैल्याएर कसरी हतोत्साहित गर्ने कसरी कमजोर बनाउने, कसरी बिगार्ने, कसरी यज्ञलाई बिथोल्ने अनेकअनेक कुराहरु सोचेर लाग्नुभएको हो कि, मैले केही बुझ्न सक्या छैन", भण्डारीले साउन १३ गते राति फेसबुक लाइभमा भनेका छन् । समाचार प्रकाशन भैसकेपछि सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले भनेका छन्, "तर पनि केही छैन, जस्तो पर्छ फेस गर्ने हो । हामी धर्मका लागि छौँ, समाजका लागि छौँ, राष्ट्रको लागि छौँ, सनातन वैदिक धर्मको संरक्षण गर्ने भनेर लागेका छौँ ।"
कोटिहोम आयोजक संस्थाका सञ्चालकमाथि प्रश्न उठाएका यी एकादुई मिडियाले आफूमाथिका दबाब-प्रभावबारे बोल्न थालिरहँदा अधिकांश मिडिया भने विजय भण्डारीबारे अझै मौन छन्, जो विगतमा उनलाई ‘महाठग’ का रुपमा चित्रित गर्दथे ।