आफूलाई धर्मगुरु बताउने विजय भण्डारीको समूहले पत्रकार श्याम सुन्दर पुडासैनीमाथि हातपात गरेको छ ।
शुक्रबार मध्यरात पशुपतिमा भएको तनावको विषयमा रिपोर्टिङमा पुगेका उनीमाथि विजय भण्डारीको समूहले हातपात गरेको हो ।
नेपाल भ्यूजमा कार्यरत पुडासैनीले पशुपतिनाथमा कोटिहोम समापनका क्रममा देखिएको अराजकताबारे उनले घटनास्थलबाटै फेसबुकमा लेखेका थिए- 'कोटिहोमस्थलमा अहिले मध्यरात चर्काे भाषणबाजी, विजय कृष्णमुर्तिको ठगी महायज्ञले पखालिएको दाबी, बंगलादेश जस्तो हिंशा मच्चाउने अभिव्यक्ति ।'
मध्यरातमा भएको अस्तव्यस्त कार्यक्रमका बीचमा उद्घोषकले मञ्चबाटै नाम लिएर 'तपाईँ विरोधमा हो कि समर्थनमा ?' भन्दै बोलाएका थिए ।
भिडले उनलाई मञ्चमा उचाल्यो र अपमानजनक ढङ्गले फूलमाला र खादा लगाउन थाल्यो । कतिपयले कुट्नुपर्छ भन्दै उनीमाथि हातपातको प्रयास गर्दै थिए ।
लाइभ भिडियोमा उनलाई कुटपिट गर्दै पछ्याएको देखिन्छ । लाइभ भिडियोमा कतिपयले उनलाई मार्नुपर्छ भन्नेसम्मको धम्की दिएका छन् ।
पुडासैनीले आफूमाथि अराजक समूहले निगरानी गरिरहेको र त्यहाँको अवस्थाबारे फेसबुकमा लेख्नेबित्तिकै घेराबन्दीमा पारेर मञ्चमा उकालेको बताए ।
"म बाँचेर भर्खर घर आइपुगेँ । ममाथि कुटपिट र लुटपाट दुबै भयो", पशुपतिको अराजक भीडबाट फुत्किएका पुडासैनीले भने, "मेरो सुनको सिक्री पनि लुटिएछ, पर्स, लाइसेन्स सबै कुरा लुटियो ।" आफूले लगाएको हेलमेट पनि उक्त समूहले लुटेको पुडासैनीले बताए ।