नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम् नेटवर्क (NIMJN)ले जलवायु रिपोर्टिङ फेलोसिपका लागि आवेदन आह्वान गरेको छ । क्लाइमेट एक्सन नेटवर्क साउद एसिया (CANSA)को सहकार्यमा फेलोसिप प्रदान गर्न लागेको निम्जिनले जनाएको छ ।
यो फेलोसिप दुई जना पत्रकारले पाउनेछन् । पत्रकारिता गर्दै गरेका नयाँ पत्रकार (early career journalist) तथा DEI (विविधता, समानता, र समावेशी) पृष्ठभूमिका पत्रकारहरूलाई फेलोसिपमा प्राथमिकता दिइनेछ।
इच्छुक पत्रकारहरूले सेप्टेम्बर २६ अर्थात् असोज १० गतेभित्र आवेदन भरिसक्नुपर्ने छ ।
रिपोर्टिङका विषय के-के हुन् ?
निम्जिनको सूचना अनुसार निम्न तीन विषयमा केन्द्रित रहेर अनुसन्धान र रिपोर्टिङ गर्नुपर्नेछः
१. चरम मौसमी घटनाहरूले गर्दा हुने गैर आर्थिक हानी नोक्सानी ।
२. मौसम परिवर्तनमा भएका ढिलाईले हुने गैर आर्थिक हानी नोक्सानी ।
३. अनुकूलन योजनामा गैर आर्थिक हानी नोक्सानी ।
फेलोसिपका सर्तहरू:
१. अक्टोबर १, २०२४ देखि ४ महिनासम्म सम्बन्धित विषयमा दुईवटा रिपोर्टिङ गर्नु पर्नेछ ।
२. छानिएका फेलोहरूले जलवायु न्याय, महिला र बालबालिका जस्ता जोखिममा परेका समूहहरू, जीविकोपार्जन र यस्तै अन्य कुराहरूको सवालमा NIMJN सँग नजिक रही समन्वयमा काम गर्नु पर्नेछ ।
३. फेलोहरूलाई सोलुसन जर्नालिजम फ्रेमवर्क (Solution Journalism Framework) प्रयोग गर्दै विशेषगरी, भिडियो स्टोरी तथा अन्य मल्टिमिडिया स्टोरीहरू उत्पादन गर्न प्रोत्साहित गरिन्छ।
४. फेलोहरूले फेलोसिपको बखत कम्तिमा दुईवटा स्टोरी उत्पादन गर्ने अपेक्षा गरिन्छ र उनीहरूले चार महिनाको लागि मासिक रुपमा फेलोसिप रकम (stipend) प्राप्त गर्नेछन्।
५.सम्पादन पछि स्टोरीहरू NIMJN र CANSA को वेबसाइट सहित यी संस्थाका साझेदार संस्थाको वेबसाइटमा प्रकाशित गरिनेछ । फेलोहरू आवद्ध रहेको संस्थाले स्टोरी प्रकाशन प्रसारण गर्न चाहेमा सोही दिन वा त्यसपछि श्रोत सहित प्रकाशित गर्न पाउनेछन् । उल्लेख गर्नुपर्ने श्रेय र श्रोत यसप्रकार छ - यो स्टोरी NIMJN र CANSA द्वारा प्रदान गरिएको फेलोसिप अन्तर्गत तयार गरिएको हो ।
६.आवेदकहरूले प्रस्तावहरू ( ७०० भन्दा बढी शब्दहरूमा) यो फारममा भर्नुपर्छ र यो विषय सान्दर्भिकता, प्रभाव, नयाँ जानकारी वा अन्तर्दृष्टि, कार्य योजना, डेटा भिजुलाइजेसनको आधारमा मूल्यांकन गरिनेछ । साथै, अन्य मापदण्डका बीचमा जोखिममा रहेका समुदायलाई केन्द्रित गरी नवीन कथा कथनमा ध्यान दिनु पर्नेछ । निर्णायक मण्डलले हानी नोक्सानी, जलवायु प्रेरित प्रवास र सञ्चारमाध्यममा लामो अनुभव र विशेषज्ञता भएका व्यक्तिहरू समावेश छन् । निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ।
७. कामको माध्यम अंग्रेजी वा नेपाली हुनेछ।
आवेदन भर्नका लागि यहाँ क्लिक गर्नुहोस् । थप प्रश्न भए [email protected] मा इमेल गर्नुहोस्।