नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसनले 'स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति' (Health Journalism Fellowship) घोषणा गरेको छ । फाउन्डेसनले Arete Healthsciences को सहयोगमा ६ महिनाको फेलोसिप घोषणा गरेको हो ।
विश्वव्यापी रूपमा बढ्दै गएको वातावरणीय संकट, महामारीको जोखिम, घातक प्रदूषण र एन्टिमाइक्रोबियल प्रतिरोध जस्ता जटिल चुनौतीमाथि तथ्यमा आधारित पत्रकारितालाई प्रोत्साहन गर्ने फेलोसिपको उद्देश्य छ ।
“नेपालमा स्वास्थ्य पत्रकारिता अझै सीमित स्रोत, न्यून प्राथमिकता र संस्थागत सहयोगको अभावका कारण अपेक्षित रूपमा विकसित हुन सकेको छैन”, आवेदन सूचनामा भनिएको छ, “पछिल्ला वर्षहरूमा समग्र पत्रकारिता क्षेत्रले भोगिरहेका आर्थिक तथा पेशागत संकटका कारण स्वास्थ्य पत्रकारिता अझ कमजोर बन्दै गएको देखिन्छ। यस कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रका जटिल विषयमा गहन अनुसन्धान, तथ्यपरक रिपोर्टिङ तथा जनहितमुखी पत्रकारितालाई प्रोत्साहन गरिनेछ ।”
फेलोसिप प्राप्त गर्ने पत्रकारलाई ६ महिनासम्म मासिक ५० हजार रुपैयाँ उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
यस अवधिमा अध्येताले कम्तिमा दुईवटा गहन खोजमूलक समाचार सामग्री तयार गरी प्रकाशन वा प्रसारण गर्नुपर्नेछ ।
फेलोसिप प्राप्त गर्ने पत्रकारलाई डा. सुशील कोइराला, डा. उत्तम बाबु श्रेष्ठ, डा. युवराज आचार्य र सोनिया अवाले लगायतका विज्ञको समूहले मेन्टरको रूपमा मार्गनिर्देशन प्रदान गर्ने पनि जनाइएको छ ।
नेपाली भाषामा लेख्ने तथा नेपालका सञ्चारमाध्यममा स्वास्थ्य पत्रकारितामा सक्रिय प्रारम्भिक वा मिड करियर पत्रकारहरूका लागि यो अवसर लक्षित गरिएको आयोजकले जनाएको छ ।
आवेदनहरूको मूल्यांकन स्वास्थ्य र सञ्चार क्षेत्रका विज्ञहरूको स्वतन्त्र समूहले गर्ने सूचनामा उल्लेख छ ।
इच्छुक पत्रकारले विगत दुई वर्षभित्रका आफ्ना उत्कृष्ट तीन सामग्री, आगामी ६ महिनाको कार्ययोजना र आफूले रोजेको विषयमा कसरी अनुसन्धान गर्ने भन्ने संक्षिप्त योजनासहितको कभर लेटर सहित आवेदन दिनुपर्नेछ ।
आवेदन दिने अन्तिम म्याद २०८३ असार १ गते दिउसो १२ बजेसम्म तोकिएको छ ।
आवेदकहरूले आफ्ना सम्पूर्ण कागजात एउटै पिडिएफ फाइलमा राखेर [email protected] मा इमेल गर्न सक्नेछन्