रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले समाजमा सकारात्मक प्रभाव पार्ने र जिम्मेवार पत्रकारिता गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गर्न 'रोटरी जर्नो अवार्ड २०२६' को घोषणा गरेको छ ।
समाजमा सकारात्मक र रचनात्मक सञ्चारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको अवार्डले सातवटा विधा लाई समेटेको अवार्ड समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए ।
प्राप्त आवेदकहरू मध्येबाट सर्टलिस्ट गरी विज्ञ समूहले अवार्डका लागि निर्णय गर्ने उनले जानकारी दिए ।
यो अवार्ड आगामी २०८३ असार १२ गते काठमाडौंमा प्रदान गरिनेछ । अवार्डका मुख्य विधाहरू यस्ता छन्:
- आधारभूत शिक्षा, साक्षरता र डिजिटल साक्षरता
- खानेपानी, सरसफाइ र स्वच्छता (WASH)
- रोग रोकथाम र उपचार
- मातृ तथा शिशु स्वास्थ्य
- वातावरण, जलवायु परिवर्तन र उत्थानशीलता
- स्थानीय शान्ति र द्वन्द्व रोकथाम/समाधान
- सामुदायिक र आर्थिक विकास
प्रत्येक विधाका विजेतालाई जनही ५१ हजार रुपैयाँ नगद र प्रशंसापत्र प्रदान गरिने सूचनामा जनाएको छ ।
अवार्डका लागि रोटरी क्लबहरूले आफ्नो क्षेत्रका योग्य पत्रकारको मनोनयन गर्न सक्नेछन् ।
साथै, इच्छुक सञ्चारकर्मीले व्यक्तिगत रूपमा पनि तोकिएको इमेल वा ह्वाट्सएपमार्फत आवेदन दिने व्यवस्था गरिएको जनाइएको छ ।
आवेदनका लागि पत्रकारले आफ्नो संक्षिप्त व्यक्तिगत विवरण, फोटो र सम्बन्धित विधामा प्रकाशित/प्रसारित तीनवटा सामग्रीको लिङ्क उपलब्ध गराउनुपर्नेछ ।
मनोनयन दर्ता गर्ने अन्तिम मिति २०८३ जेठ २८ गते साँझ ५ बजेसम्म तोकिएको छ ।
कसैलाई मनोनयन गर्ने वा आवेदन दिने लिङ्क 👇 https://districtgrants.rotarydistrict3292.org.np/rotary-journo-award-2025-26/
असार १२ गते हुने कार्यक्रममा एकजना वरिष्ठ पत्रकारलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' पनि प्रदान गरिने अवार्ड समितिका अध्यक्ष आचार्यले जानकारी दिए ।